My Blog List

Saturday, July 10, 2010

मेरो गाउ ,बिदेश र मेरा सम्झना हरु

सम्झनाका तरेलीहरुमा रम्दा रम्दै र गम्दा गम्दै एक युग नै पो बितिसकेछ गाउँलाई फर्केर नहेरेको पनि । मायाँ नभएर भनुँ त कसरि भनुँ ‘मुटु भरि मायाँको सागर नै उर्लिएको छ’सम्झना नभएर भनुँ त कसरि भनुँ ‘यादहरुले आधि ज्यान नै सुकि सकेको छ’। प्रदेशको ब्यस्त जिवनमा फुर्सद नै कहाँ पाईन्छ र चाहेर पनि गाउँ घरको तिर्सना मेटाउन । झण्डै आठ बर्ष अघि जब यस मरुभूमिमा पहिलो पाईला टेकेको थिएँ, आज सम्झँदा कता कता झल्याँस्स ब्यँझे जस्तो भान हुन पुग्छ । अन्नपूर्ण हिमालदेखि बगेर आउने चिसो हावाको बहाब र लंकाकोटको काखमा अवस्थित मेरो अबतरण भूमि छोरेखर्कलाई जब सम्झन पुग्छु फेरि तिनै आवाजहरु कानमा गुन्जन पुग्छन् । कोहिलीका कुहु कुहुरुपी करतल ध्वनिहरुले जब गाउँको मौनता भंग गर्थ्यो ‘रमाउन मन लाग्थ्थो उसैको लयमा अनि गाउन मन लाग्थ्थो उसैको स्वरमा’ ।
________________________________________जिवन त यसै पनि कष्टकर थिंदै थियो । कहाँको मेरो सुन्दर अनि हरियाली थुमपोखरा अनि कहाँको बालुवा नै बालुवाको बन्जड शहर दोहा । सबै परिबेशहरु नयाँ र नौला हुनु त आफ्नो ठाउँमा थिंदै थियो तर त्यो भन्दा पनि बेशी गाउँको सम्झनाले कुटु कुटु मननै खाँदा आँखाहरु रसाउन पुग्थे र भक्कानो छुट्थ्यो । मनका यादहरु दृष्य बन्दै गाउँतिर एकोहोरिन्थे तर ति सुनौला यादहरुलाई मनमै साँची आफैमा खुम्चिनु शिवाय कुनै उपाए नै थिएन तैपनि गाउँको त्यो रमणिय दृष्यहरुलाई बन्द आँखाहरुले नियाल्ने गर्थैं ।
दोहाको बलौटे जिवनबाट यसो के फुर्सद मिल्छ, सरिर थकाईले लखतरानै भएपनि सम्झन पुग्छु तिनै गाउँ बेशी र पाखाहरुलाई, अनि गाउन पुग्छु तिनै भाकाहरुमा जहाँ गाउँदै र सुसेल्दै हिड्थें, रमाउँथें र नाच्थें पाखाहरुको गीत संगै । यादहरुको भेल त आज पनि मन भरि उर्लिई नै रहन्छ, ‘सम्झँदै सरस्वती मा वि उदियाचौर, आँधीखोला र फेदिखोलाका गल्छेडाहरुलाई । याम बहादुर गुरु ,मुक्ति गुरु र चण्डी गुरुहरुले घोकाएका पाठहरु र वहाँहरुबाट प्राप्त ज्ञानको महत्व त बल्ल अहिले आएर पो बुझ्दै छु । हाफ छुट्टिमा आँधीखोलाका किनारमा डुम्रि टिप्न झर्दा साथीहरुको लहै लहैले पौडन पुगिन्थ्थो र घण्टी बजेको समेत थाहा हुदैनथ्थो । त्यस पछि मास्टरका डण्डा खाएका ति मीठा अनुभुतिहरु सम्झँदा आज पनि कता कता कुतकुति लाग्न थाल्छ र फेरि त्यहि शैशबकाल खण्डमा हराउन मनलाग्छ । विडम्बना, कालको गतिलाई कस्ले पो फर्काउन सकेको छ र ? यदि यस्तो हुन्थ्थो त म पनि फर्कन्थें तिनै अतितको सुनौलो कालखण्डमा र फेरि चड्थें होला डुम्रिका रुखहरुमा र बग्थें होला आँधीखोलाका भेलहरु सँगै । पारिपट्टीको सिध्दार्थ राजमार्ग, सिरानमा पेलाकोट र सिर्सेकोट, आँधीखोला बगलमै रहेको उदियाचौरको काखमा अवस्थित सरस्वती मावि, जब आफ्ना अतितका पलहरुलाई हामीसंगै गाउन थाल्छ ‘लाग्छ पुनर्जिवन मिले सरह’ र आँफैमाहराउनपुग्छुम ।
लेख्दा लेख्दै कलम संगै बगिदिएछ मन र हराउन पुगेछु एकाएक । मान्छेले चाहेमा के नै पो गर्न सक्दैन र यस्को उदाहरण बनेको छ आजको दोहा । आठ बर्ष अगाडीको यो शहर र आजको शहरमा तुलना नै गर्न नसकिने भएको छ । हामी नेपाली र त्यसमा पनि यहाँ रहेका हजारौं स्याङजाबासीहरुको पनि कम मेहनत छैन यो शहरलाई यत्तिको बनाउनमा । शुरुमा त के नै पो थियो र यहाँ अनि को नै पो थियो र जिल्लाबासिहरु तर आज जता ततै भेटिन्छन् गाउँघरका ठीटाहरु । यिनै जोशिला र आँटीला ठीटाहरुको प्रयासले स्थापित “ स्याङजा सेबा समाज “ एक प्रतिष्ठित संस्थाको रुपमा स्थापित भैसकेको छ दोहामा । कता कता लाग्छ बिदेशमा खर्चे जति जोश , जाँगर , शिप र मेहनत यदि आफ्नै स्याङजामा खर्चिन पाईन्थ्थो त आज मेरो स्याङजा पनि सायदै संसार कै उन्नत शहर सरह नै समृद्दशाली हुने थियो होला । शुरुका दिनहरु सम्झँदा सानो समाचारको लागी पनि नेपाली अनुहार खोज्नु पर्थ्थो र पुलिसका डण्डा समेत खानु पर्ने अवस्था थियो । तर अहिले आएर मेरो स्याङजा डट कम मा कार्यरत सबै स्याङजा प्रेमी दाजु भाई तथा दिदी बहिनीहरुको मेहनत अनि अटल लगन र प्रयासले जिल्लाको ताजा खबर यस बिरानो मुलुकमा भए पनि दिनानुदिन पढ्न पाउँदा आफूले आफैलाई भाग्यमानी ठानेको छु र गर्वले छाती पनि चौडा भएकोमहशुसहुन्छ।
आखिर म कुनै लेखक पनि होइन, अझ भन्नुपर्दा मलाई लेखनको खासै ज्ञान पनि छैन, फेरी पनि कलमरुपी घोडा चढेर हिंड्ने प्रयासमा लगाम यहाँहरुको हातमा छोडेको छु । आशा छ यहाँहरु ले सहि बाटो हिडाउनु हुने नै छ । कुनै बस्तु आफुबाट टाडा छ भने त्यो बस्तु बढी प्यारो हुन्छ रे ! सायद त्यहि भएर हो कि गाउँको यति मायाँ लागेको । हुनत कसको ईछ्या हुँदैन र आफ्नो गाउँ बिकसित होस् , आफु पनि गाउँमै बस्न सकिने बातावरण बनोस , सपनीमा होइन बिपनीमा नै गाउँ बेसी गर्दै दिन काट्न सकियोस भन्ने तर खोइ कहाँ पो पाईएला र यो मनले खोजेको र त्यो मनले रोजेको । यसो भन्दैमा गाउँको विकासै नभएको भने पक्कै होइन । फेरी अहिले बाँयटारीदेखि डुम्रे भन्ज्याङ अनि सिर्सेकोट सम्मको कच्ची बाटो मै भएपनि जिपहरु दौडींदा त डाँडाखर्कको सिर भरि रातो सिन्दुर थपिए सरह नै भान हुन्छ । घन्टौ लाग्ने सिर्सेकोटको ठाडो उकालो केहि क्षणमै ट्याक्सको गडगडाहटपूर्ण हुँकार सहित घुम्दै काट्दाको मज्जा यहाँ बर्णन गरि साध्यनै छैन । विकास अनि सम्भावनाका सयौं खानीको केन्द्र थुमपोखरा गाबिस भवनलाई पनि तिनै कच्ची बाटोबाट भए पनि जोड्ने प्रयास हुँदै गरेको समाचार सुन्न पाउँदा त झन मननै खुसीले फुरुङ्ग हुनपुग्छ । अझ गाबिस भवन संगै रहेको बायँखोला वरीपरिको सुन्दरता र यहाँका मनोरम प्राकृतिक छटाहररुले कस्को पो मन नछोला र ?
प्राय सबै जन जातिहरुको बसाईं रहेको थुमपोखरामा जम्मा नौ बटा वडा रहेका छन् । सिर्सेकोट,पेलाकोट ,तिन्दोबाटे गाबिस संग जोडिएको थुमपोखराका किसानहरु निकै कुरामा अगाडी पनि छन् । कफी उत्पादन गरेर स्याङजाको नाम देशभर नै पुर्याएका कुराले उनिहरु प्रति गर्व गर्न मन लाग्छ । यति मात्र नभै दुध उत्पादन बढाएर स्याङजालाई नै गोरसीलो जिल्ला बनाई रहेका छन भन्दा त झनै खुसीको सिमा नै रहँदैन। समय बदलिंदो छ । नयाँनेपाल बनाउने अभियानमा हामी सबै लागेका छौं । आशा गरौं हामी सबै ले सोचे जस्तै हुने छ मेरोस्याङजा , मेरो थुमपोखरा , मेरो छोरेखर्क अझ भनौं मेरो नेपाल । लंकाकोट जस्तो इतिहास बोकेका ठाउँलाई धार्मिक अनि पर्येटकिय स्थलको रुपमा अगाडी बढाउन सके कति राम्रो हुने थियो भन्न चाहन्छु । जाँदा जाँदै , दाजु रत्न काफ्ले ले “मातृभूमिको यादमा………” गाए झैं मलाई पनि गाउन मन लाग्यो उहि गीत -
मनको बह पोखँ कहाँ याद आउँछ यदा कदा ,
मातृभूमि तिमीलाई मेरो नमस्कार छ सदा सदा
….नमस्कार छ सदा सदा !!

मदनडुम्रे”बिद्रोही”
थुमपोखरा५छोरेखर्क

No comments:

Post a Comment